क्यान महासंघ काभ्रेको आयोजनामा आइसिटी इन एग्रीकल्चर कार्यक्रम सम्पन्न

 

क्यान महासंघ काभ्रे शाखाको आयोजना र खेती एपको प्राविधिक सहयोगमा आइसिटी इन एग्रीकल्चर कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार पनौती नगरपालिका – ५ सुब्बा गाउँमा कृषि सहकारीको व्यवस्थापकीय सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
पनौती नगरपालिका प्रमुख श्री रामशरण भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा करिब १०० जना कृषकको सहभागितामा कृषिमा सूचना प्रबिधिको प्रयोग, उत्पादन वृद्धि, बाली रोग उपचार, कृषि बजारीकरण एबम् कृषकले डिजीटल माध्यमबाट बिक्री वितरण गरी बढी भन्दा बढी आय आर्जन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
पनौती नगपालिकाका प्रमुख रामशरण भण्डारीले कृषिमा प्रविधिको प्रयोग आजको आवश्यकता रहेको र प्रविधिकै माध्यमबाट अहिले भइरहेको कृषिका समस्यालाई सजिलो बनाउने बताए ।
का केन्द्रीय सदस्य शेखरनाथ दुलालले यो कार्यक्रमको सुरुवात भएको र कार्यक्रम वास्तविक किसान केन्द्रित हुनु पर्ने र कृषकलाई प्रविधिसँग जानकार बनाउनको लागि क्यानले निरन्तर सहयोग गर्ने बताए ।
कार्यक्रममा पनौती-५ का वडा अध्यक्षले कृषकको अहिलेको समस्या मलको रहेको र कृषकले यूरिया लगायतको विकल्पमा स्थानीय वनस्पतिबाट बनाउने कम्पोष्ट मल लाई बढी प्रयोग गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा खेती वेन्चर प्रा. लि.को तर्फ बाट निरु वैद्यले खेती एपको उपयोगिताको बारेमा बताएकि थिइन्।आइसिटी इन एग्रीकल्चर कार्यक्रमका संयोजक क्यान काभ्रेका उपाध्यक्ष श्री दीपक सापकोटाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

Back To Top